
काठमाडौं । प्रविधिको महाकुम्भका रूपमा चिनिएको वर्डक्याम्प नेपाल २०२५ आज आफ्नो दोस्रो तथा अन्तिम दिनमा प्रवेश गरेको छ । राजधानीको चन्डोलस्थित कुन्डलिनी दरबारमा आयोजना गरिएको यो सम्मेलनले सूचना प्रविधिमा चासो राख्ने हजारौं सहभागीहरूलाई एकै थलोमा ल्याएको छ

समापन दिनमा पनि कार्यक्रम उत्साहजनक रूपमा अगाडि बढेको छ । वर्डप्रेस र कृत्रिम बुद्धिमत्ता (एआई) को समायोजनबारे अभिनाष कुन्डलियाले आज प्रस्तुति दिनेछन्, जसले वेबसाइट विकासलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे सहभागीहरूलाई जानकारी दिनेछ ।

यस्तै, ५० प्रभावशाली महिला २०८१ सूचीमा पर्न सफल समाजसेवी सुभासिनी श्रेष्ठको प्रेरणादायी उपस्थिति आज पनि जारी रहनेछ । दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल पहुँचका क्षेत्रमा उनको योगदानबारे आजको सत्रमा विशेष चर्चा हुने बताइएको छ ।
