बिकुल खबर

विद्यार्थीको मनोबल गिराउने कक्षाकोठाको ‘रुखो वचन’

‘कस्तो लद्दु ! यति पनि नजान्ने के गरेर खान्छस् ? तैँले पढेर खाँदैनस् !’

यी कक्षाकोठामा धेरै विद्यार्थीहरूले सुनिरहने वाक्य हुन्, जुन शिक्षकले पढाइमा कमजोर भनिने विद्यार्थीलाई गर्ने गालीहरू हुन् ।

स्कुले जीवन पार गरेर आएका धेरैजसोले यसको अनुभव गरेकै होलान् । आफैँले यस्ता गाली नखाएपनि कक्षाको अर्को साथीलाई भनेको त पक्कै सुनेकै हुनुपर्छ । अनुभव गरेको सम्भवतः अहिले पनि यी शब्दहरू कक्षाकोठाबाट हराएका छैनन् ।

कक्षामा विद्यार्थीको गल्ती वा कमजोरी देखाएर प्रयोग गरिने यस्ता अपमानजनक शब्दहरू, जस्तै ‘लद्दु’, ‘मन्द बुद्धि’, ‘नालायक’ आदि, केवल गालीका रूपमा सीमित हुँदैनन् ।
यस्ता शब्दले विद्यार्थीको मनोविज्ञानमा गहिरो असर गर्छ । उनीहरूको आत्मविश्वासलाई कमजोर बनाउँछन् ।

उदाहरणका लागि, जब शिक्षकले होमवर्क नगरेको वा गलत जवाफ दिएको आधारमा विद्यार्थीलाई तिखो शब्दले प्रहार गर्छन्, त्यसले विद्यार्थीमा ‘म असक्षम छु’ भन्ने भावनाको विकास गर्छ । यो भावनाले दीर्घकालीन रूपमा विद्यार्थीको आत्मविश्वास र उत्साहलाई घटाउँछ, जसले उनीहरूलाई सामाजिक र शैक्षिक रूपमा पछाडि धकेल्न सक्छ ।

आत्मविश्वासको कमीले विद्यार्थीलाई हरेक चुनौतीसँग डराउन सिकाउँछ । जस्तै, अग्लो ठाउँमा उभिँदा लड्ने डरले कसैको आत्मविश्वास डगमगाउँछ, त्यसरी नै कक्षामा बारम्बार गाली र आलोचना सुन्दा विद्यार्थी आफ्नो क्षमतालाई लिएर शंका गर्न थाल्छ । उनीहरूले आफूलाई असफल ठान्न थाल्छन् र अवसरहरू खोज्न डराउँछन् ।

शिक्षकहरूले यस्ता शब्दहरूको प्रयोगमा सावधानी अपनाउनुपर्छ । यस्ता शब्दहरूले विद्यार्थीलाई प्रोत्साहन गर्नुको सट्टा उनीहरूको मनोबल तोड्छ । सकारात्मक र रचनात्मक प्रतिक्रियाले विद्यार्थीको आत्मविश्वास बढाउन सकिन्छ, जसले उनीहरूलाई चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ । तसर्थ, शिक्षण प्रक्रियामा संवेदनशीलता र सकारात्मक दृष्टिकोण अपनाउनु आवश्यक छ, ता कि विद्यार्थीहरूको आत्मविश्वास र सम्भावनालाई प्रोत्साहन गर्न सकियोस् ।

विद्यार्थीलाई अपमानजनक शब्दहरूले मात्र होइन, बेवास्ता गरिएको अनुभूतिले पनि गहिरो चोट पुर्‍याउँछ । शिक्षा प्रणालीमा शिक्षकहरूको ध्यान र समर्थनले विद्यार्थीको मानसिक र शैक्षिक विकासमा ठूलो प्रभाव पार्छ ।

कक्षा कोठामा बालबालिकालाई दिइने ध्यान र आत्मविश्वासले उनीहरूको मानसिक र शैक्षिक विकासमा गहिरो प्रभाव पार्छ । हरेक बच्चा विशेष हुन्छ, तर कक्षामा शिक्षकहरूले प्रायः ‘स्मार्ट’ वा ’जान्ने’ बच्चाहरूलाई बढी ध्यान दिने र उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन् । यसले गर्दा अन्य बच्चाहरू, जो पछाडि छन् वा कम आत्मविश्वास भएका छन्, तिनीहरूले उपेक्षित भएको महसुस गर्नसक्छन् ।

यस्तो उपेक्षा र कम ध्यानले बच्चाहरूमा हीनताबोध, ग्लानि र आत्मविश्वासको कमी पैदा गर्छ, जसले उनीहरूको सिकाइ प्रक्रियालाई अवरुद्ध गर्छ । बालबालिकाले शिक्षकलाई आफ्नो आदर्श मान्छन् र शिक्षकको व्यवहारले उनीहरूको मनोवैज्ञानिक अवस्थामा ठूलो प्रभाव पार्छ । जब बच्चालाई पर्याप्त ध्यान दिइँदैन वा उसको नाम उदाहरणमा लिइँदैन, उसले आफूलाई कमजोर र अयोग्य ठान्न थाल्छ । यस्तो अवस्थाले बच्चाको मनमा गहिरो पीडा र निराशा उत्पन्न गर्छ, जुन उसले व्यक्त गर्न पनि सक्दैन ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.