
काठमाडौं । काठमाडौँ उपत्यकावासीको धारामा मेलम्चीको पानी वर्षभरि नै आउने, चौबिसै घण्टा आउने जस्ता प्रतिबद्धता सम्बन्धित मन्त्रालय र निकायबाट पटक पटक गरिए पनि धेरै उपभोक्ताका धारामा हप्तौँदेखि पानी आएको छैन ।

ललितपुरको बंगलामुखी, सानेपा, झम्सिखेल, बखुन्डोलवरपरका क्षेत्रमा मेलम्चीको पानी नआएको डेढ हप्ताभन्दा बढी भइसकेको उपभोक्ताको गुनासो छ ।
काठमाडौँको तीनकुने, बत्तिसपुतली, कोटेश्वरको सुविधानगर, नरेफाँट, जडीबुटी क्षेत्रलगायत क्षेत्रका उपभोक्ताका धारामा पानी नआएको पनि हप्ता नाघिसकेको छ ।
काठमाडौँ क्षेत्र नं. २ (क) का प्रदेश सांसद सुनील केसीले कोटेश्वर, तीनकुने, पेप्सीकोला, रातोपुल, बत्तिसपुतली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, जडीबुटीलगायतका क्षेत्रका उपभोक्ताका धारामा धेरै दिनदेखि मेलम्चीको पानी नआएको बताए । अहिले यस क्षेत्रका उपभोक्ताले ट्याङ्करको पानी किनेर खानुपर्ने बाध्यता रहेको बताउँदै उनले ट्याङ्करको पानीको शुद्धता सुनिश्चित कसले गर्ने भन्ने प्रश्नसमेत उठाए ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफू बसेको ललितपुरको बगलामुखी क्षेत्रमा केही दिनदेखि पानी नआएको बताए । उनले आश्वासन बाँड्नुभन्दा उपभोक्ताका धारामा नियमित पानी आउने गरी काम गर्न सम्बन्धित मन्त्रालय र निकायलाई आग्रहसमेत गरे ।
ललितपुर निवासी वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले ललितपुरको नगर क्षेत्रमै पर्ने सानेपा, झम्सिखेल, बखुन्डोलवरपरका क्षेत्रका उपभोक्ताका धारामा झन्डै एक हप्तादेखि मेलम्चीको पानी नआएको बताए । पानी नदिए शुल्क किन लिने ? भन्ने प्रश्न गर्दै उनले उपभोक्ताले छुट्टै पैसा तिरी ट्याङ्करको पानी किन्न नसक्ने स्पष्ट पारे । उनका अनुसार पुरानो र नयाँ पाइपलाइन दुई वटैबाट पानी आएको छैन ।
कोटेश्वर, दीप नगर टोल सुधार समितिका अध्यक्ष नानीकाजी केसीले आठ दिनदेखि कोटेश्वर क्षेत्रमा मेलम्चीको पानी नआएको बताए । उनले भने, “केही समयअघिसम्म त धारामा पानी आउँदै आउँदैनथ्यो, केही हप्तादेखि आउन सुरु भएको थियो । त्यो पनि नआएको एक हप्ता भइसक्यो ।” उनले खानेपानीमन्त्रीले कोटेश्वर महादेवस्थानमा खानेपानी ट्याङ्की निर्माण गर्ने प्रतिबद्धता गरे पनि त्यो अहिलेसम्म पूरा हुन नसकेको गुनासो गरेको समाचार गोरखापत्रले छापेको छ ।
