बिकुल खबर

गुराँस र सिसनको ‘जाने भए जाम माया’ गीत युट्युबमा सर्वाधिक हेरियो

गण्डकी । छ महिना नबित्दै युट्युबमा दश करोडपटक हेरिएको गीत ‘दुश्मन हेरेको हेरै’बाट चर्चामा आएका गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा रेकर्ड कायम गरेको छ । उक्त गीत युट्युबमा सार्वजनिक भएको २४ घण्टाभित्र सर्वाधिक हेरिएको नेपाली गीत बन्न सफल भएको हो ।

बुधबार बेलुका सार्वजनिक उक्त गीतलाई शुक्रबार दिउँसोसम्म ३० लाखभन्दा बढीपटक हेरिएको छ । गायक थापा र सिसन बानियाँको स्वर रहेको यस गीत अहिले युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा छ । गीतको म्युजिक भिडियोमा गायक थापा, बानियाँ, गुराँस नानी र पेम्बा लामाको अभिनय देख्न सकिन्छ ।

गत पुसमा सार्वजनिक गायक थापाको गीत ‘दुश्मन हेरेको हेरै’लाई पनि हालसम्म युट्युबमा १० करोड ७३ लाखभन्दा बढीपटक हेरिएको छ । यही असार पहिलो साता उक्त गीतको ‘भ्यूज’ १० करोड नाघ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत गायक तथा सर्जक थापालाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका थिए ।

युट्युब ट्रेन्डिङको पहिलो स्थान हुँदै ग्लोबल ट्रेन्डिङमासमेत परिसकेको उक्त गीतको सफलताले भावुक हुनुका साथै खुसी भएको गायक थापाले बताए ।

भगवानरूपी दर्शक÷स्रोताले दिनुभएको यो सम्मान केबल भ्यूजको सङ्ख्या होइन, यो सपना पूरा भएको क्षण हो उनले भने ।

उक्त गीतको सफलतापछि आफ्नो साङ्गीतिक यात्राले नयाँ मोड लिएको गायक थापाको भनाइ छ । पछिल्लो गीत ‘जाने भए जाम माया’ले पाएको चर्चा र सफलताको श्रेय पनि दर्शक÷स्रोतालाई जाने बताउँदै उहाँले आगामी दिनमा यस्ता रचनात्मक क्रियाकलापलाई निरन्तरता दिने उल्लेख गरे ।

थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहन्छन् । ‘करिअर’को सुरूआतीकालमा रेष्टुराँ र बारमा नृत्यकारका रूपमा काम गरेका उनी अहिले अभिनय र सङ्गीतमा पोख्त भएका छन् । गायक थापा आगामी महिना अष्ट्रेलियाको साङ्गीतिक यात्रामा सहभागी हुन त्यसतर्फ जाँदै छन् ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.