प्रकाश भट्ट कञ्चनपुर १५ पुष । सुदूरपश्चिममा विशेष महत्वका साथ मनाइने मौलिक पर्व ‘पुसे पन्ध्र’ यस वर्ष पनि विभिन्न कार्यक्रमसहित मनाइएको छ। वसन्त ऋतुको आगमनतर्फ उन्मुख भएको संकेत दिने र महिनाको मध्यदिन पुस १५ गतेलाई सुदूरपश्चिमेलीहरूले परम्परागत पर्वका रूपमा मनाउँदै आएका छन्।

पुसे पन्ध्रका अवसरमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो ताप्दै जाग्राम बस्ने, तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमूल तथा विभिन्न परिकार खाने चलन रहिआएको छ। सामाजिक एकता, सद्भाव र संस्कृतिको प्रतीकका रूपमा हरेक वर्ष यो पर्व सुदूरपश्चिमभर मनाइन्छ।
यसै अवसरमा सुदूरपश्चिमको मौलिक पर्व ‘पुसे पन्ध्र’ लाई केन्द्रमा राख्दै कञ्चनपुरको महेन्द्रनगरमा विशेष ‘ककालु काव्यसभा’ सम्पन्न भएको छ। सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न संस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
काव्यसभाको आयोजना गुगुल्डि वाङ्मय प्रतिष्ठान, मानसखण्ड फाउण्डेसन र मानसखण्ड गुरुकुल महेन्द्रनगरले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रमको मुख्य प्रवर्धक ककालु फुड्स रहेको थियो, जसले स्थानीय उत्पादन र स्वादको प्रवर्द्धन गर्दै आएको छ।
मानसखण्ड फाउण्डेसनका पूर्व अध्यक्ष तथा कार्यक्रम सञ्चालक रमेश पन्त ‘मीतबन्धु’ ले काव्यसभामा सुदूरपश्चिमका स्थापित तथा नवोदित साहित्यकारहरूले मौलिक परम्परा झल्किने कविता, काव्य र साहित्यिक रचना प्रस्तुत गरेको जानकारी दिए। कार्यक्रममा तरुल, गुडजस्ता परम्परागत परिकारसहित पुसे पन्ध्रको सांस्कृतिक झल्को प्रस्तुत गरिएको थियो।
मानसखण्ड फाउण्डेसनका सचिव तथा मानसखण्ड गुरुकुलका प्रबन्ध निर्देशक हेमबाबु लेखकले प्रत्येक वर्ष सुदूरपश्चिमको मौलिकता जगेर्ना गर्ने उद्देश्यले पुसे पन्ध्र विशेष कार्यक्रम आयोजना गर्दै आइएको बताए। उनका अनुसार पुसे पन्ध्रका अवसरमा मातृभाषाका साहित्यिक रचनाहरू वाचन गर्ने, तरुल खाने, कटकी चिया खाने, विगतका दिनहरू स्मरण गर्ने र पुर्खाहरूले कसरी यो पर्व मनाउँथे भन्ने अनुभव साटासाट गर्ने परम्परा थियो। त्यही मौलिक संस्कारलाई जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
गुगुल्डी वाङमय प्रतिष्ठानका अध्यक्ष एवम् सुदूरपश्चिमका साहित्यिक धरोहर बिर बहादुर चन्द (विश्राम) ले पुसे पन्ध्रजस्ता मौलिक पर्व र साहित्यिक कार्यक्रमहरूले सुदूरपश्चिमको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आधुनिकता र प्रविधिको प्रभावबीच पनि पुर्खाले छाडेर गएका भाषा, साहित्य र संस्कृतिलाई संरक्षण गर्नु आजको आवश्यकता भएको उल्लेख गरे। यस्ता काव्यसभा तथा सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो माटो, भाषा र परम्परासँग जोड्ने काम गरेको उनको भनाइ थियो।
त्यस्तै, गुगुल्डी वाङमय प्रतिष्ठानका सचिव जगदिश ओझाले पुसे पन्ध्र केवल चाडपर्व मात्र नभई सुदूरपश्चिमी समाजको सामूहिक स्मृति र सांस्कृतिक चेतनाको प्रतीक भएको बताए। उनले साहित्य, लोककथा, कविता र परम्परागत भाकामार्फत पुर्खाको जीवनशैली र मूल्यलाई जोगाएर अगाडि बढाउनु प्रतिष्ठानको मुख्य उद्देश्य रहेको उल्लेख गरे। यस्ता कार्यक्रमले स्थापित र नवोदित साहित्यकारबीच संवाद र सहकार्य बढाउने विश्वास पनि उनले व्यक्त गरे।
कार्यक्रमले सुदूरपश्चिमको सांस्कृतिक पहिचान संरक्षणमा टेवा पुग्ने सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।
