बेलौरी । किसान नेता भीमदत्त पन्तको ७३ औँ स्मृति दिवसको अवसरमा सालिकमा माल्यार्पण गरिएको छ । आइतबार नेकपा एमाले बेलौरी नगर कमिटीको आयोजनामा बेलौरी बजार स्थित सहिद भीमदत्त पन्तको सालिकमा माल्यार्पण गरिएको हो ।
नेकपा एमाले कन्चनपुरका जिल्ला सचिव पल्लव राज भट्ट लगायत बेलौरी क्षेत्रका नेकपा एमालेका नेता कार्यकर्ताले सालिकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।
विसं १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका सहिद पन्तले सुदूरपश्चिममा तत्कालीन व्यवस्थाविरुद्ध ‘कि त जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानको पक्षमा क्रान्ति गरेका थिए ।
तत्कालीन सरकारले उनको विसं २०१० साउन १७ गते डोटीको बुडरमा हत्या गरेको थियो ।उनको टाउकोलाई काटेर डडेल्धुरा खलङ्गाको टुँडिखेलमा केही दिन झुण्ड्याइएको थियो ।
भीमदत्त पन्तको सम्मान गर्दै सरकारले २०७२ फागुन १९ गते उनलाई सहिद घोषणा गरेको थियो । किसान क्रान्ति सुरु गरेका सहिद पन्तको जिल्ला स्थित बेलौरी, ब्रम्हदेव र महेन्द्रनगरमा शालिक रहेको छ ।