बिकुल खबर

कंचनपुरमा वन डढेलो ब्यवस्थापन सप्ताहका अवसरमा सरोकारवालाहरुसित अन्तरक्रिया सम्पन्न


कञ्चनपुर — कञ्चनपुरमा वन डढेलो व्यवस्थापनका विषयमा सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा वन डढेलो व्यवस्थापन सप्ताह (चैत्र १ देखि ७ गतेसम्म) का अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजन वन अधिकृत लक्ष्मीराज जोशीले जिल्लाका अधिकांश वन क्षेत्रमा डढेलोको जोखिम उच्च रहेको उल्लेख गर्दै वन डढेलो नियन्त्रणका लागि सरकारी निकाय मात्र नभई स्थानीय समुदाय, सामुदायिक वन समूह तथा सरोकारवाला सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले समयमै पूर्वतयारी, सचेतना र समन्वय गर्न सके डढेलोका घटनालाई न्यून गर्न सकिने धारणा व्यक्त गरे।
त्यस्तै, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले वन डढेलो नियन्त्रण प्रभावकारी बनाउन तीनै तहका सरकार, सुरक्षा निकाय र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले लापरबाही वा असावधानीका कारण हुने डढेलो नियन्त्रण गर्न जनचेतना अभिवृद्धि र कानुनी कार्यान्वयन दुवैलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।
अन्तरक्रिया कार्यक्रममा वन डढेलोका कारण हुने वातावरणीय, आर्थिक तथा सामाजिक असरका बारेमा विस्तृत छलफल गरिएको थियो। डढेलोका कारण जैविक विविधता र वन्यजन्तुको वासस्थानमा क्षति पुग्ने, माटोको संरचना र पोषक तत्व नष्ट हुने, धुँवा र प्रदूषणका कारण मानव स्वास्थ्यमा जोखिम बढ्ने तथा काठ, घाँस, जडीबुटी लगायत वन पैदावारमा ठूलो आर्थिक नोक्सानी हुने तथ्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा वन डढेलो नियन्त्रणमा देखिएका व्यावहारिक चुनौतीहरूबारे पनि चर्चा गरिएको थियो। समयमै सूचना नपुग्नु, पर्याप्त औजार र जनशक्तिको अभाव, कठिन भौगोलिक बनावटका कारण पहुँचमा समस्या तथा सरोकारवाला निकायबीच पर्याप्त समन्वय नहुनु जस्ता विषयलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको थियो। त्यसैगरी नयाँ घाँस पलाउन, शिकार गर्न वा मह संकलन गर्नका लागि जानाजानी आगो लगाउने प्रवृत्तिले पनि डढेलोको जोखिम बढाउने गरेको उल्लेख गरिएको थियो।
डिभिजन वन कार्यालय कञ्चनपुरले वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि नियमित रूपमा जनचेतनामूलक कार्यक्रम, तालिम, अग्नि नियन्त्रण टोली गठन, अग्नि रेखा निर्माण, झाडी सफाइ तथा उच्च जोखिमयुक्त मौसमको पूर्वसूचना प्रणाली सञ्चालन गर्दै आएको जनाएको छ। साथै, सामुदायिक वन समूह, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी डढेलो नियन्त्रणका लागि द्रुत प्रतिक्रिया प्रणाली पनि सक्रिय राखिएको कार्यालयले जनाएको छ।
कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार शुक्लाफाँटा क्षेत्र, लालझाडी, कृष्णपुर तथा भीमदत्त नगरपालिका क्षेत्रलाई वन डढेलोका दृष्टिले उच्च जोखिमयुक्त ‘हटस्पट’ का रूपमा पहिचान गरिएको छ। ती क्षेत्रमा लक्षित कार्यक्रम, पूर्वतयारी र समुदाय परिचालनलाई प्राथमिकतामा राख्दा डढेलो नियन्त्रणमा उल्लेखनीय प्रभाव पर्ने सहभागीहरूले बताएका थिए।
यस अवसरमा वन ऐन २०४६ अन्तर्गत जानाजानी वनमा आगो लगाउने व्यक्तिलाई क्षतिको भरपाईसहित तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको जानकारी पनि सरोकारवालालाई गराइएको थियो।
वन डढेलो व्यवस्थापन सप्ताहभर जिल्लाका विभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रम, सचेतना र नियन्त्रणसम्बन्धी अभ्यासहरू सञ्चालन गरिने डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.