बिकुल खबर

दार्चुलामा गणेश ठगुन्नालाई कमब्याक हुन कति गाह्रो वा सहज

दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी यतिखेर ह्वात्तै बढेको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाको प्रतिनिधिसभाको एक सिटका लागि यसपटक विभिन्न राजनीतिक दलबाट ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै उम्मेदवार अहिले आफ्नो पक्षमा मत माग्न घरदैलोदेखि चुनावी सभासम्म सक्रिय बनेका छन् ।

दार्चुलामा विगतदेखि नै नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । यसपटक नेकपा एमालेबाट पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाले आफ्नो चुनावी अभियानलाई आक्रामक रूपमा अघि बढाएका छन् ।

सुदूरपश्चिम प्रदेश संयोजकसमेत रहेका ठगुन्ना दार्चुलाको परिचित राजनीतिक अनुहार हुन् । उनी यसपटक गुमेको साख फर्काउने र संसदीय राजनीतिमा तेस्रो जित निकाल्ने लक्ष्यसहित चुनावी मैदानमा छन् ।

उनले गठबन्धनबाट प्रदेशसभाबाट विजयी भएका उम्मेदवारहरु कता हराएका छन् भनी प्रश्न गरे । दार्चुलामा थुप्रै समस्याहरु छन् । ती समस्या हल गर्न एमालेले विकास निर्माणका काम अघि बढाएर सडक पूर्वाधारको काम भइरहेको बताए ।

राजनीतिक यात्रालाई हेर्दा ठगुन्ना २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए ।

तर २०७९ सालको निर्वाचनमा भने उनी तीनदलीय गठबन्धनका उम्मेदवारसँग पराजित हुन पुगेका थिए । त्यतिबेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनका कारण कांग्रेसका दिलेन्द्रप्रसाद बडुसँग ठगुन्ना २,१३४ मतले पराजित भएका थिए । बडुले २८,५१५ मत प्राप्त गर्दा ठगुन्नाले २६,३८१ मत पाएका थिए ।

यसपटक भने बडु चुनावी मैदानमा छैनन् ।
बदलिएको राजनीतिक समीकरण, गठबन्धनको अभाव र आफ्नो व्यक्तिगत प्रभावका कारण पुनः जित हासिल गर्नेमा ठगुन्ना विश्वस्त देखिन्छन् । स्थानीय तहमा एमालेको बलियो संगठन उनको मुख्य आधार बनेको छ । एमालेले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकाको नेतृत्व जितेको छ भने लेकम गाउँपालिकामा पनि पार्टीको पकड राम्रो रहेको एमालेको दाबी छ ।

यता नेपाली कांग्रेसले धर्मानन्द जोशीलाई उम्मेदवार बनाएको छ । नयाँ अनुहारमार्फत मतदातालाई आकर्षित गर्ने कांग्रेसको रणनीति भए पनि पूर्वमन्त्री बडुजस्तो प्रभावशाली नेताको अनुपस्थिति र पार्टीभित्रको आन्तरिक गुटबन्दी जोशीका लागि चुनौती बन्न सक्ने आकलन गरिएको छ । उनलाई एमालेको बलियो संगठनसँग प्रतिस्पर्धा गर्नुपर्ने दबाब पनि छ ।

यसैगरी, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ऐतिहासिक जित निकालेका लक्ष्मणदत्त जोशी पनि यसपटक नेकपाबाट उम्मेदवार बनेका छन् । लामो समय संसदीय राजनीतिबाट टाढा रहेका जोशी पुनः चुनावी मैदानमा फर्किएसँगै प्रतिस्पर्धा थप रोचक बनेको छ ।

दार्चुलाको चुनावी इतिहास हेर्दा यहाँ मुख्यतः कांग्रेस र एमालेकै वर्चस्व रहँदै आएको छ । २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी र २०६४ सालमा माओवादीले जितेको बाहेक अन्य अधिकांश निर्वाचनमा यी दुई दलबीच नै प्रतिस्पर्धा हुँदै आएको छ ।

निर्वाचन कार्यालयका अनुसार दार्चुलामा यसपटक कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले यस पटक एमालेका गणेशसिंह ठगुन्नाको पुनरागमन प्रयास सफल हुने एमाले दार्चुलाले जनाएको छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.