२३ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबार शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीति नगर्न र संघलाई गैरराजनीतक बनाउन निर्देशन दिए । मन्त्रीको निर्देशनलाई शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । मन्त्री पुनको निर्देशन संविधानविपरीत भएको शिक्षकहरूको जिकिर छ ।
‘मन्त्रीज्यूले शिक्षा ऐन, नियमावली र संविधान नपढेको देखिन्छ । बेलुका सुत्ने बेला संविधानको धारा ३४ पढ्नु पर्यो । श्रम ऐन पढ्नु पर्यो,’ नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।मन्त्रीको ध्यानकर्षणले शिक्षक र मन्त्रालयबीच द्वन्द्व बढ्ने अध्यक्ष सुवेदीको बुझाइ छ ।
‘शिक्षक समुदाय र मन्त्रालयबीच द्वन्द्व निर्माण गर्ने दिशातिर जान्छ,’ उनले भने, ‘मन्त्री हुने मान्छेले संविधानको ज्ञान राख्नु पर्यो ।’संविधानको धारा ३४ मा श्रमको हक हुने भनिएको छ । उक्त धाराको उपधारा ३ मा प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुने भनिएको छ । संविधान अनुसार नै शिक्षक संघ-संगठन बनेको दाबी अध्यक्ष सुवेदीको छ ।‘संस्थाहरू श्रम ऐन अनुसार दर्ता भएका छन् । ती संस्थालाई अवैधाकिन भन्ने अधिकार कसैलाई छैन । सबै संस्था वैधानिक हो,’ अध्यक्ष सुवेदीले भने ।