माधब पौडेल,०१ पौष।”स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद”भन्ने मुल नारा सहित बेलौरी नगर खेलकुद समितिको आयोजनामा १६ औं संस्करणको नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको मंगलबार सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले उद्घाटन गर्नुभएको छ।।

बेलौरीको खुलामञ्चमा आयोजित कार्यक्रमको सभापति बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बिशिस्ट अतिथी बेलौरी नगरपालिकाका प्रवक्ता एवं कार्यवाहक नगरप्रमुख हर्क बहादुर भूल,अतिथिमा बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झपिराज ओझा, महाकाली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह बोहरा, नेपाली कांग्रेसका बेलौरी नगर सभापति पेपुराम चौधरी, राजनीतिक दलका प्रतिनिधि लगायत सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले खेलकुदले विद्यार्थीको शारीरिक,मानसिक साथै आत्मिक तन्दुरुस्त बनाउने र सिकाइमा ताजापन ल्याउनमा खेलले ठूलो भूमिका खेल्ने बताउँदै आफु स्वयं यसै क्षेत्रको नागरिक भएको हैसियतले खेलाडी भाइ बैनिहरूको विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै नगर प्रवक्ता एवं कार्यवाहक नगरप्रमुख हर्क बहादुर भुलले बेलौरी नगरपालिकाले सिमित श्रोत साधन भित्र रहेर पनि विगतका बर्षहरूमा हाम्रो पालिकावाट छनौट भएका खेलाडीहरुले जिल्ला, प्रदेश र राष्ट्रीय स्तर समेत आफ्नो प्रतिभा प्रदर्शन बताउँदै यस वर्ष पनि प्रतियोगिताबाट छनौट भएका खेलाडी विद्यार्थीहरुले जिल्ला, प्रदेश र राष्ट्रीयस्तर या आफ्नो नाम र पालिकाको नाम राख्न सफल हुनेछ भन्ने विश्वास लिएको बताउनुभयो।मार्च पासमा पशुपति शिक्षा मन्दिर रतनपुर प्रथम, एजी बोर्डिङ स्कुल सडकघाट द्वितीय र जननमुना माध्यमिक रामनगरले तृतीय स्थान प्राप्त गरेका छन्।
बेलौरी नगर खेलकुद समितिको नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका छात्र–छात्राले सहभागिता जनाउने आयोजकले जनाएको छ।प्रतियोगिताअन्तर्गत भलिबल, कबड्डी, कराँते,तेक्वान्दो र एथलेटिक्स विधाका खेलहरू समावेश गरिने नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले जानकारी दिनुभयो। उद्घाटन कार्यक्रममा बेलौरीका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।।पौष १ गतेदेखि ४ गतेसम्म आयोजना गरिने उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेलौरीका सामुदायिक तथा संस्थागत माध्यमिक तहका २५ बिद्यालय सहभागी रहेका छन।
