बिकुल खबर

दिनेश यादवको अग्रसरतामा हरियाली अभियान :कुण्डाबाट हजारौं बिरुवा नि: शुल्क बितरण


कञ्चनपुर २७ असार ।वन संरक्षण, वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत कुण्डा सब डिभिजन वन कार्यालयले शनिबारदेखि निःशुल्क बिरुवा वितरण कार्यक्रम सुरु गरेको छ। कार्यालय प्रमुख दिनेश यादवको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानले स्थानीय समुदायमा वृक्षारोपणप्रति नयाँ उत्साह थपेको छ।
आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वन नर्सरीमा उत्पादन गरिएका विभिन्न प्रजातिका बिरुवाहरू इच्छुक कृषक, निजी वनधनी, सामुदायिक वन उपभोक्ता समूह, विद्यालय तथा सरकारी-गैरसरकारी संस्थालाई निःशुल्क वितरण गर्न थालिएको हो। बिहानैदेखि वन नर्सरी परिसरमा बिरुवा लिन सेवाग्राहीको उल्लेखनीय भीड देखिएको थियो।
कार्यालयका अनुसार लिप्टिस (मसला), अमला, सतिसाल, नीम, बकाइनो, गोल्डमोहर, राजवृक्ष, छतिवन, मोरिङ्गा, पारिजात, सिसम, धुपी, मौवा, लप्सी, बेल, रिठ्ठा, जामुनलगायतका बहुउपयोगी तथा वातावरणमैत्री प्रजातिका बिरुवा वितरण भइरहेको छ। यी बिरुवाले वातावरण संरक्षणसँगै आर्थिक, औषधीय तथा सौन्दर्यात्मक महत्व पनि बोकेको कार्यालयको विश्वास छ।
कुण्डा सब डिभिजन वन कार्यालय प्रमुख दिनेश यादवले निःशुल्क बिरुवा वितरण कार्यक्रम केवल बिरुवा बाँड्ने अभियान मात्र नभई वातावरण जोगाउने साझा सामाजिक अभियान भएको बताउनुभयो। उहाँका अनुसार जलवायु परिवर्तनका चुनौती बढिरहेका बेला प्रत्येक नागरिकले आफ्नो घर, खेतबारी, विद्यालय, सार्वजनिक स्थल तथा खाली जमिनमा बिरुवा रोपेर संरक्षण गर्नु आजको आवश्यकता हो।
प्रमुख यादवले भन्नुभयो, बिरुवा रोप्नु मात्रै पर्याप्त हुँदैन, त्यसको संरक्षण पनि उत्तिकै महत्वपूर्ण हुन्छ। प्रत्येक नागरिकले कम्तीमा एक बिरुवा रोपेर हुर्काउने बानी बसाल्न सके हरियाली विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्न ठूलो योगदान पुग्नेछ।
उहाँले वन क्षेत्रको संरक्षणसँगै निजी जग्गामा वृक्षारोपण विस्तार गरी हरियाली बढाउने, जैविक विविधताको संरक्षण गर्ने, भूक्षय नियन्त्रण गर्ने तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
यादवले समुदाय, किसान, विद्यालय, युवा क्लब तथा सामाजिक संघसंस्थालाई वृक्षारोपण अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै वन संरक्षण सरकारी निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले सामूहिक प्रयासबाट मात्रै हरियाली नेपाल निर्माण गर्ने लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय सेवाग्राहीहरूले पनि निःशुल्क रूपमा गुणस्तरीय बिरुवा उपलब्ध गराएकोमा वन कार्यालयप्रति आभार व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमले वृक्षारोपणको संस्कृति विकास गर्न, वातावरण संरक्षणमा जनचेतना फैलाउन र निजी वन विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्नेछ।
डिभिजन वन कार्यालय कञ्चनपुरले नर्सरीमा मौज्दात रहेका बिरुवा सकिएसम्म वितरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यालयले सबैलाई बिरुवा लिएर अनिवार्य रूपमा रोप्न र संरक्षण गर्न आग्रह गर्दै हरियाली प्रवर्द्धनमा हातेमालो गर्न आह्वान गरेको छ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.