बिकुल खबर

कंचनपुर निर्वाचन क्षेत्र न- ३ मा उम्मेदवारहरु बिच प्रत्यक्ष संवाद : सुशासन र परिणाममुखी विकासको प्रतिबद्धता


कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूबीच शुक्रबार प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सम्पन्न भएको छ। NNSWA को सह-आयोजनामा तथा JCI Mahendranagar को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

JCI महेन्द्रनगरका अध्यक्ष लक्ष्मण पन्तको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू एउटै मञ्चमा उभिएर आफ्ना योजना, प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गरेका थिए।

“शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ” भन्ने मूल नारासहित आयोजित संवादमा उम्मेदवारहरूले सुशासन, पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। आयोजक पक्षले मतदातालाई सही निर्णय लिन सहयोग पुग्ने उद्देश्यले खुला बहसको आयोजना गरिएको जनाएको थियो।

संवादका क्रममा उम्मेदवारहरूले निर्वाचित भएपछि क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, युवा स्वरोजगार, सीपमूलक तालिम, स्वास्थ्य सेवा सुदृढीकरण, सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि तथा सडक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिने बताए।

सीमावर्ती जिल्लाको विशेष अवस्थालाई ध्यानमा राख्दै केही उम्मेदवारहरूले भन्सार व्यवस्थापन सुधार, सीमावर्ती व्यापार सहजीकरण तथा सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउने योजना प्रस्तुत गरे। साथै, पर्यटन प्रवर्द्धन, जैविक विविधताको संरक्षण र उद्योग स्थापनामार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

विगतका कमीकमजोरीबाट पाठ सिक्दै अब परिणाममुखी विकासमा केन्द्रित हुनुपर्नेमा सबै उम्मेदवारहरूले जोड दिए। “जनताको विश्वास जित्नु नै हाम्रो पहिलो जिम्मेवारी हो,” एक उम्मेदवारले भने, “निर्वाचित भएपछि पाँच वर्ष जनतासँग प्रत्यक्ष संवादमै रहेर काम गर्नेछौं।”

कार्यक्रममा स्थानीय बुद्धिजीवी, नागरिक समाज, युवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचार नियन्त्रण र दिगो विकासका विषयमा उम्मेदवारहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका थिए।

आयोजकका अनुसार, यस प्रकारको संवादले मतदातालाई उम्मेदवारहरूको दृष्टिकोण र योजनाबारे स्पष्ट जानकारी दिने अवसर प्रदान गरेको छ। आगामी निर्वाचनको संघारमा कञ्चनपुर-३ मा मतदाताको चासो बढिरहेका बेला यस्ता कार्यक्रमले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.