बिकुल खबर

कंचनपुरमा वेवारिसे सागुनको काठ बरामद, अवैध ढुङ्गा ओसार्ने दुई ट्याक्टर नियन्त्रणमा

हेमा भट्ट, ११ साउन ,कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वन तथा प्राकृतिक स्रोतको संरक्षणमा सक्रियता बढाउँदै बेवारिसे सागुनको काठ बरामद गर्नुका साथै अवैध रूपमा ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब १:३० बजे इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको टोलीले दोधारा चाँदनी नगरपालिका-७ टाउकेटोलस्थित नेपाल-भारत सीमा नजिकबाट १८ क्युबिक फिट (५ गोलिया) सागुनको काठ बेवारिसे अवस्थामा फेला पारेको हो। करिब १६ हजार २ सय रुपैयाँ बराबर मूल्यको उक्त काठ आवश्यक कानुनी कारबाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा पोष्ट लाई बुझाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन बिहान करिब १०:२० बजे इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटा स्थित ओदाली खोलाबाट अवैध रूपमा ढुङ्गा निकाली फुल ट्रली लोड गरी ल्याउँदै गरेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका ट्र्याक्टरमध्ये से १ त ८७०१ नम्बरको ट्र्याक्टर स्थानीय ३५ वर्षीय पुष्कर चौधरी र सुदूरपश्चिम प्रदेश ०१-००२ त ४६३८ नम्बरको ट्र्याक्टर ३१ वर्षीय प्रकाश चौधरी ले चलाएका थिए। दुवै ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि शुक्लाफाँटा नगरपालिका कार्यालय, झलारी मा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्राकृतिक स्रोत तथा वन सम्पदाको अवैध दोहन रोक्न निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ। यस्ता गतिविधिमा संलग्न नहुन तथा अवैध कार्यको जानकारी भएमा तत्काल प्रहरीलाई सूचना दिन सबै नागरिकसँग अनुरोध गरिएको छ।

प्रहरीका अनुसार वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा कानुनको प्रभावकारी कार्यान्वयनका लागि यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.